डिग्री शिक्षाको अन्त्य होइन, नयाँ ज्ञान यात्राको सुरुवात हो : केदारभक्त माथेमा

171 Shares

काठमाडौँ — शिक्षाविद् केदारभक्त माथेमाले विश्वविद्यालयको डिग्री प्राप्ति शिक्षाको अन्त्य नभई ज्ञानको नयाँ चरणको सुरुवात मात्र भएको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले खुला विश्वविद्यालयलाई निरन्तर सिकाइको प्रतीकका रूपमा व्याख्या गरे। “यो विश्वविद्यालय उमेर, स्थान र परिस्थितिको सीमाभन्दा माथि उठेको विशिष्ट शैक्षिक संस्था हो,” उनले भने।

माथेमाले खुला विश्वविद्यालयका विद्यार्थीहरू बढी परिपक्व, जिज्ञासु र स्वअध्ययनशील हुने उल्लेख गर्दै दूरशिक्षा पद्धतिले आत्मअनुशासन र जीवनभर सिकिरहने चेतना विकास गर्ने बताए। उनले विद्यार्थीहरूलाई पुस्तक अध्ययन, बहुविषयक ज्ञान र विशेषगरी साहित्य अध्ययनमा जोड दिन आग्रह गरे। यस्तो अध्ययनले विचार क्षमता, भाषा र मानवीय संवेदनशीलता अभिवृद्धि गर्ने उनको भनाइ थियो।

समारोहका अध्यक्ष तथा विश्वविद्यालयका कुलपति प्रधानमन्त्री सुशीला कार्कीले खुला तथा दूर शिक्षामार्फत सर्वसुलभ र गुणस्तरीय उच्च शिक्षाको पहुँच विस्तार गर्न विश्वविद्यालयले प्रयास गरिरहेको बताइन्। उनले समयको गतिसँगै विश्वव्यापी र रैथाने ज्ञानलाई समेटेर शिक्षण–सिकाइ सञ्चालन गर्नुपर्नेमा जोड दिइन्।

उपकुलपति प्रा.डा. शीलु मानन्धर बज्राचार्यले यो दीक्षान्त समारोह विश्वविद्यालयको शैक्षिक यात्राको महत्वपूर्ण कोशेढुङ्गा भएको बताइन्।

विश्वविद्यालयका अनुसार स्थापना भएदेखि २०८२ असार मसान्तसम्म तीनै सङ्कायबाट ५४५ विद्यार्थी उत्तीर्ण भएका छन्। तीमध्ये सामाजिक शास्त्र तथा शिक्षा सङ्कायबाट २४०, व्यवस्थापन तथा कानुन सङ्कायबाट २७४ तथा विज्ञान, स्वास्थ्य तथा प्रविधि सङ्कायबाट ३१ जना रहेका छन्। तहगत रूपमा एमफिलमा १५२, स्नातकोत्तरमा ६४, पीजीडीमा २ र स्नातक तहमा ३२७ जना उत्तीर्ण भएका छन्।

उत्तीर्णमध्ये १८६ विद्यार्थी आइतबारको समारोहमा प्रत्यक्ष सहभागी भई दीक्षित भएका छन्।

यसै समारोहमा व्यवस्थापन तथा कानुन सङ्कायअन्तर्गत सुदूरपश्चिम प्रदेशका बाबुराम भुलले नेपाल खुला विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्ने पहिलो विद्यार्थी बनेर इतिहास रचेका छन्। दुर्गम क्षेत्र तथा दलित समुदायबाट आएको उनको सफलतालाई कार्यक्रममा विशेष प्रशंसा गरिएको थियो।

समारोहमा विश्वविद्यालयको शैक्षिक जर्नल ‘नेपाल खुला विश्वविद्यालय जर्नल’ को पहिलो अंक पनि सार्वजनिक गरिएको थियो