मुस्ताङमा बाक्लो हिमपात, उपल्लो क्षेत्रको जनजीवन प्रभावित

168 Shares

काठमाडौं । मुस्ताङ जिल्लामा शुक्रबारदेखि नै हिमपात सुरु भएको छ । विशेषगरी छुसाङदेखि माथिल्लो भेग उपल्लो मुस्ताङ क्षेत्रमा बाक्लो हिमपात भइरहेको स्थानीयहरूले बताएका छन् ।

कागबेनी र छुसाङ आसपास क्षेत्रमा पनि हिउँ परेको छ । तर उपल्लो मुस्ताङमा भारी हिमपात भएपछि घुम्न गएका पर्यटकहरूको टोलीसमेत फर्किएको नमस्ते टुर्स एन्ड ट्राभल्सका सुदीप आचार्यले जानकारी दिए ।

गत दशैंताका पनि मुस्ताङलगायतका हिमाली जिल्लामा हिमपातका कारण जनजीवन प्रभावित बनेको थियो । त्यसयता उपल्लो मुस्ताङमा अहिले पहिलोपटक उल्लेख्य हिमपात भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

हिमपातका कारण चिसो अत्यधिक बढेको छ भने यातायात र दैनिक जनजीवनमा असर परेको छ । यसले चुनावी कार्यक्रमसमेत प्रभावित पार्न सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । यद्यपि आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन मिति सार्ने विषयमा औपचारिक निर्णय भने भइसकेको छैन । निर्वाचन कार्यालयले भने आवश्यक तयारी जारी राखेको जनाएको छ ।