काठमाडौं ।उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछि गठन भएको सरकारमा आफ्नो सहभागिताबारे भइरहेका टिप्पणीप्रति ध्यानाकर्षण भएको बताएका छन् ।
आन्दोलनपछिको विषम परिस्थितिमा प्रधानमन्त्री सुशीला कार्की तथा जेनजी आन्दोलनका अगुवाहरूको अनुरोधमा आफू सरकारमा सहभागी भएको उनले उल्लेख गरेका छन् । सरकारमा सहभागी हुने बेलामै आफूले भविष्यमा राजनीतिमा जाने सोच स्पष्ट रूपमा राखेको र उक्त सरकार गैरदलीय भएकाले आफ्नो सहभागिता उपयुक्त नहुन सक्ने विषय प्रधानमन्त्रीसमक्ष प्रष्ट पारेको घिसिङले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
जेनजी आन्दोलनपछि राज्य संरचना शून्यताजस्तो अवस्थामा पुगेका बेला प्रधानमन्त्री कार्कीको आग्रहमा चुनौती स्वीकार गर्दै जिम्मेवारी सम्हालेको उनको भनाइ छ । उनले आफ्नो अडान स्पष्ट राखेरै काम गरेको र राजनीतिक प्रश्न उठेपछि पदबाट राजीनामा दिएको विषय सर्वविदित रहेको उल्लेख गरेका छन् ।
‘म पद लोलुप होइन, राज्यले दिएको जिम्मेवारी पूरा गर्ने व्यक्ति हुँ,’ घिसिङले लेखेका छन् ।
आफूविरुद्ध नियोजित रूपमा बदनाम गराउने उद्देश्यले भ्रमपूर्ण प्रचार र टिप्पणी भइरहेको दाबी गर्दै उनले त्यस्ता गतिविधिबाट प्रभावित नहुन आग्रह गरेका छन् । उज्यालो नेपाल निर्माणका लागि आफ्नो जीवन राजनीतिमा समर्पित गर्दै निरन्तर क्रियाशील रहने प्रतिबद्धतासमेत घिसिङले व्यक्त गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया