काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका एक करोड ५० लाख थान मतपत्र छपाइ सम्पन्न भइसकेको जनाएको छ ।
आयोगका अनुसार मतपत्र छपाइ कार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु गरिएको थियो । हालसम्म एक करोड ५० लाख मतपत्र छापिसकिएको र अब करिब ५० लाख थान मतपत्र छाप्न बाँकी रहेको जनाएको छ ।
समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएलगत्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरिने आयोगले जानकारी दिएको छ । प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम नामावली भने यसअघि नै टुंगो लगाइसकिएको छ ।
मनोनयन पत्र दर्ता प्रयोजनका लागि एक प्रति मतदाता नामावली छपाइ गरी सबै जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले तीन हजार ४०६ जना उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ । आयोगले शुक्रबार उम्मेदवारहरूलाई निर्वाचन चिह्नसमेत प्रदान गरेको थियो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारमध्ये तीन हजार १७ पुरुष, ३८८ महिला र अन्य समूहबाट एकजना रहेका छन् ।
उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्मको सम्पूर्ण निर्वाचन कार्यक्रम शान्तिपूर्ण तथा उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारहरूको नामावलीसमेत प्रकाशित भइसकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया