काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनुपर्नेमा जोड दिनुभएको छ।
शुक्रबार काठमाडौंमा सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आगामी निर्वाचनलाई संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, स्थायित्व, सुशासन र विकाससँग जोडिएको बताउनुभयो।
उहाँले राजनीतिक दलसहित सबैको उत्साहपूर्ण सहभागितासँगै सुरक्षा निकायले निर्वाचन निष्पक्ष र सुरक्षित बनाउन कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रमा समस्या वा विपद् आउँदा सुरक्षा निकायले अग्रपंक्तिमा भूमिका निर्वाह गर्ने स्मरण गर्दै उहाँले सुरक्षा निकायको धर्म शान्ति–सुरक्षा कायम राख्दै मुलुक र जनताको सर्वोत्तम हितमा काम गर्नु भएको बताउनुभयो।
राष्ट्रपति पौडेलले आगामी निर्वाचनमा पनि सशस्त्र प्रहरी बलको भूमिका प्रभावकारी रहने विश्वास व्यक्त गर्नुभएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया