सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवस मनाइयो, सीमा सुरक्षा र विपद् उद्धारमा सक्रिय भूमिका

216 Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले आफ्नो २५औँ स्थापना दिवस मनाएको छ। २०५७ सालमा देशमा सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको समयमा अर्धसैन्य सुरक्षा बलका रूपमा सशस्त्र प्रहरी बलको स्थापना गरिएको थियो।

द्वन्द्वकालीन परिस्थितिमा स्थापना भएको सशस्त्र प्रहरी बल हाल सीमा सुरक्षा, आन्तरिक सुरक्षा तथा विपद् उद्धारजस्ता क्षेत्रमा प्रभावकारी रूपमा परिचालन हुँदै आएको छ।

काठमाडौंमा शुक्रबार आयोजित रजत जयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गत भदौ २३ र २४ गते भएका आन्दोलनपछि मुलुकको सुरक्षा चुनौती थपिएको उल्लेख गर्नुभयो। उहाँले आन्तरिक सुरक्षाका लागि सशस्त्र प्रहरी बल सधैँ तयारी अवस्थामा रहनुपर्नेमा जोड दिनुभयो।

महानिरीक्षक अर्यालले सरकारले तोकेको आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पनि सशस्त्र प्रहरीले आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको जानकारी दिनुभयो।