काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी (वसन्त पञ्चमी) का अवसरमा शुक्रबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गर्नुभएको छ।
समारोहका क्रममा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टीका, माला तथा फूलप्रसाद प्रदान गर्नुभएको थियो। सोही अवसरमा उहाँले विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्नुभएको छ। नेपाली सेनाको एक टुकडीले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो।
समारोहमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
वसन्त पञ्चमीका अवसरमा विद्याकी देवी सरस्वतीको पूजा गर्ने परम्परा रहिआएको छ। यस दिन वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया