सशस्त्र प्रहरी बलको २५ वर्षे यात्रा पूरा, रजत महोत्सव विशेष समारोह आयोजना

151 Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले शुक्रबारदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे सेवा यात्रा पूरा गरेको छ।

‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा समर्पित सशस्त्र प्रहरी बलले राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा रजत महोत्सव विशेष समारोहको आयोजना गरेको हो।

देशमा विद्यमान विषम परिस्थितिमा शान्ति र सुरक्षा कायम गर्दै जनताको जीउ, धन र स्वतन्त्रताको रक्षा गर्ने उद्देश्यका साथ २०५७ माघ ९ गते सशस्त्र प्रहरी बलको विधिवत स्थापना गरिएको थियो। तत्कालीन गृहसचिव खेमराज रेग्मीको संयोजकत्वमा गठित ‘सशस्त्र प्रहरी सेवा गठन सुझाव कार्यदल–२०५६’ को सिफारिसका आधारमा त्यसबेलाका राजा वीरेन्द्र शाहबाट ‘सशस्त्र प्रहरी अध्यादेश, २०५७’ जारी भएपछि सशस्त्र प्रहरी बलको स्थापना भएको हो।

स्थापनाकालमा नेपाली सेना र नेपाल प्रहरीबाट जनशक्ति स्थानान्तरण गरी सशस्त्र प्रहरी बलमा समावेश गरिएको थियो। स्थापना पश्चात महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको परिसरमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालय स्थापना गरिएको थियो।