बाग्लुङ–१ मा यस्तो छ चुनावी भिडन्त, ११ जनाको उम्मेदवारी

217 Shares

सुजन आचार्य

बाग्लुङ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि बाग्लुङको क्षेत्र नं. १ बाट ११ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले दाबी–विरोध पेश गर्न र उम्मेदवारहरुविरुद्धका केही कुरा भए उजुरी दिन आग्रह गरेकोमा कसैले पनि कुनै उम्मेदवारका विरुद्ध उजुरी दिएनन् । जसले गर्दा यस क्षेत्रमा उम्मेदवारी दिएका ११ जना नै उम्मेदवार निर्वाचनका लागि योग्य बनेका छन् । 

यस क्षेत्रमा उम्मेदवारी दिएकाहरुमा नेकपा (एमाले)बाट हिराबहादुर केसी, नेपाली कांग्रेसबाट भीमबहादुर श्रीस राना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कल्याण विक्रम आचार्य, राष्ट्रिय जनमोर्चा पार्टीबाट कृष्णप्रसाद शर्मा अधिकारी, नेपाल मानवतावादी पार्टीबाट भक्तबहादुर विक, मंगोल नेसनल अर्गनाइजेसनबाट गुमाकुमारी बुढा रानामगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशील खड्का, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चित्रप्रसाद सापकोटा, नेशनल रिपब्लिक नेपालबाट सहविर थापा, श्रम संस्कृति पार्टीबाट लालबहादुर घर्ती र नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट टेकबहादुर केसीको उम्मेदवारीको टुंगो लागेको छ । 

एमालेबाट उम्मेदवारी दिएका केसी बाग्लुङ एमालेका निवर्तमान अध्यक्ष तथा पार्टीका वर्तमान केन्द्रीय सदस्य हुन् । उनी २०७० सालको दोश्रो संविधानसभा तथा २०७९ को प्रदेशसभामा पनि उम्मेदवार बनेका थिए । उनले जिल्ला अध्यक्ष भएर निर्वाह गरेको भूमिकाको पार्टी पंक्तिमा तारिफ हुने गरेको छ । उनले नै तत्कालीन नेकपा (एकिकृत समाजवादी)का १५ सयभन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई एमालेमा फर्काउन सफल भएकोमा कुसल संगठक समेत मानिन्छ । केसीको समर्थकमा एमाले नेता इन्द्रलाल सापकोटा र समर्थकमा डा. सूर्य पाठक रहेका छन् ।

त्यस्तै नेपाली कांग्रेसबाट उम्मेदवार रहेका राना पार्टीको हालै काठमाडौंमा सम्पन्न भएको दोश्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्य्रीय सदस्य हुन् । उनी त्रिभुवन विश्वविद्यालयको पूर्व स्ववियु सभापति समेत हुन् । विद्यार्थी राजनीतिबाट उदाएका उनी प्रभावशाली नेताका रुपमा परिचित छन् । उनको समर्थकमा कांग्रेस बागलुङका पुर्व सभापति हरि प्रसाद श्रेष्ठ र प्रस्तावकमा किरणराज पौडेल रहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार रहेका आचार्य त्यस क्षेत्रमा तय भएका उम्मेदवारहरु मध्येकै सबैभन्दा कान्छा हुन् । ३१ वर्षीय आचार्यले पार्टीको प्रचार विभागको संयोजकको जिम्मेवारी सम्हालिरहेका छन् । युवा तथा बौद्धिक व्यक्तित्वको छवि बनाएका आचार्यको उम्मेदवारीलाई बाग्लुङवासीले चासोका साथ हेरेका छन् । जैमिनी नगरपालिका, १ कुश्मीशेरा घर भएका आचार्य राप्रपाबाट चर्चित युवा मध्ये टिकट पाउने निकै कम मध्येका एक हुन् ।

राष्ट्रिय जनमोर्चाबाट यस क्षेत्रमा कृष्णप्रसाद शर्मा अधिकारीले उम्मेदवारी दिएका छन् । उनी पार्टीको सचिव रहेका छन् । अधिकारीको समर्थकमा नेकपाका नेता कृष्ण केसी र प्रस्तावकमा राष्ट्रिय जनेमार्चाका थानेश्वर सुवेदी रहेका छन् । नेकपाबाट कृष्ण केसीले पनि बाट उम्मेदवारको टिकट पाएका थिए । यद्यपी, दुई पार्टीबीच चुनावी तालमेल भएपछि उनी पछि हटेका हुन् । 

बाग्लुङको यस निर्वाचन क्षेत्रमा मुख्य गरी यी नै दलहरुबीच प्रतिस्पर्धा हुने देखिएको छ । अन्य उम्मेदवारहरु पनि आफूले जित्ने दाबीसहित चुनावी अभियानमा सामेल भएका छन् । 

आचार्य नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी)को बाग्लुङ जिल्ला संवाददाता हुन् ।