बाल सुधार गृहमा झडप र आगजनी, मध्यपुरथिमि–२ सानोठिमी तनावग्रस्त

173 Shares

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि–२ सानोठिमीस्थित बाल सुधार गृहमा गएराति दुई पक्षबीच भएको झडप, आगजनी र तोडफोडपछि क्षेत्र तनावग्रस्त बनेको छ। झडपका कारण बाल सुधार गृह रणमैदान जस्तै देखिएको छ।

शुक्रबार बिहान बाल सुधार गृह पुग्दा इँटा र ढुंगाका टुक्रा यत्रतत्र छरिएका थिए। स्थिति पुनः भड्किन सक्ने आशङ्कामा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ।

झडपको जानकारी पाएलगत्तै गएराति थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गानाको नेतृत्वमा प्रहरी टोली सुधार गृह पुगेको थियो। टोलीले स्थिति नियन्त्रणमा लिने प्रयास गरे पनि सफल हुन सकेन। झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति झनै तनावपूर्ण बनेको प्रहरीले जनाएको छ।

स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जनाको टोली परिचालन गरिएको थियो। आक्रोशित समूहले मध्यरातमा आगजनी गरेपछि भक्तपुर र काठमाडौंका दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो।

झडप, तोडफोड र आगजनीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। हाल स्थिति नियन्त्रणमा आएको भए पनि बाल सुधार गृह परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

सानोठिमीस्थित उक्त बाल सुधार गृहमा हाल १४५ जना पुरुष र २४ जना महिला गरी कुल १६९ जना रहेको जानकारी दिइएको छ।