सरस्वती शिक्षा, ज्ञान र सङ्गीतकी देवी हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

146 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीका रूपमा मानिने परम्परा रहिआएको बताउनुभएको छ।

वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदी–बहिनी, दाजुभाइ र सम्पूर्ण बालबालिकामा शुभकामना व्यक्त गर्नुभएको हो। उहाँले यस शुभदिनमा बालबालिकालाई घरमै अक्षरारम्भ गराउने वा विद्यालय भर्ना गर्ने परम्परा नेपाली समाजमा रहेको उल्लेख गर्नुभयो।

राष्ट्रपति पौडेलका अनुसार आजको दिन गरिने वसन्त श्रवण र सरस्वती पूजा केवल औपचारिक कर्मकाण्ड मात्र नभई जीवनलाई ऊर्जाशील बनाइराख्ने र नवीन खोज तथा सिर्जनातर्फ प्रेरित गरिरहने अवसरसमेत हो। विद्यासँगको नाता अझ प्रगाढ बनाउने र ज्ञानको परिपूर्तितर्फ अघि बढ्न वसन्त पञ्चमीले सबैलाई प्रेरणा प्रदान गर्ने उहाँको विश्वास रहेको छ।