काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई नेशनल रिपब्लिक नेपाल पार्टीले समर्थन गरेको छ।
पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका तुलप्रसाद गर्बुजाले पुनलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्। बिहीबार जारी विज्ञप्तिमा गर्बुजाले आफ्नो दलको दर्शन, विचार र सिद्धान्तप्रति प्रतिबद्धता कायम राख्दै पुन स्वतन्त्र उम्मेदवार बनेकाले उम्मेदवारी फिर्ता गर्न लागेको बताए।
गर्भुजाले साझा उम्मेदवार बनाएर निर्विरोध निर्वाचित गराउनुपर्ने मान्यताका साथ यस्तो निर्णय गरेको जानकारी दिएका छन्। उनले शुक्रबार निर्वाचन आयोगले तोकेको समयसीमाभित्र जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता गर्ने बताए।
यसै पार्टीका यसअघि उम्मेदवार बनेका डिके पुन, ओमराज मगर र दिपक पुनले समेत महावीर पुनलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाङ्गी गाउँमा जन्मेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पनि रहेका पुनले अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएर उम्मेदवारी दिएका थिए। उनका रोचक प्रचार शैलीका कारण सामाजिक सञ्जालमा चर्चा पनि बढेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया