काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र देशभर सबै स्थानमा मतपत्र पुर्याइसक्ने जनाएको छ।
आयोगका अनुसार माघ ९ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिएपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरिनेछ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले माघभित्र प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न गरी फागुनको पहिलो हप्ताभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पुर्याउने तयारी रहेको जानकारी दिनुभयो।
उहाँका अनुसार समानुपातिकतर्फ डेढ करोड मतपत्र छपाइ भइसकेको छ भने बाँकी ५० लाख मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ। निर्वाचनका लागि आवश्यक ५१ प्रकारका सामग्रीमध्ये ३७ वटा सामग्री सम्बन्धित जिल्लामै खरिद गर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।
बाँकी १४ प्रकारका सामग्री माघ महिनाको तेस्रो हप्ताभित्र प्राप्त गरी खण्ड–खण्डमा ढुवानी गरिने प्रवक्ता भट्टराईले बताउनुभयो। उहाँले निर्वाचन अवधिमा गलत सूचना नियन्त्रणका लागि आयोगले निरन्तर काम गरिरहेको र नियमनकारी निकायसँग सहकार्य गरेर कारबाहीको दायरा बढाइएको पनि उल्लेख गर्नुभयो।
निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको नामावली प्रकाशनपछि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशभर तीन हजार ४ सय ८७ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जानकारी दिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया