काठमाडौं । सरकारले आज मन्त्रीपरिषद् बैठक बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।
बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाही, नीतिगत निर्णय तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ। विशेषगरी आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन, प्रशासनिक समन्वय र निर्वाचनसँग सम्बन्धित आवश्यक निर्णयहरू बैठकको मुख्य एजेन्डा रहने बताइएको छ।
सरकारी स्रोतका अनुसार निर्वाचन नजिकिँदै जाँदा आवश्यक कानुनी, प्रशासनिक तथा सुरक्षा तयारीलाई प्रभावकारी बनाउने विषयमा मन्त्रीहरूबीच विस्तृत छलफल हुने सम्भावना छ। निर्वाचन आयोगसँगको समन्वय, सुरक्षा निकायको तयारी, कर्मचारी व्यवस्थापन तथा आवश्यक स्रोत–साधनको सुनिश्चितताबारे पनि बैठकमा छलफल हुन सक्ने जनाइएको छ।
त्यसैगरी, बैठकमा विभिन्न मन्त्रालयका प्रस्ताव, नियुक्ति तथा सरुवा, विकास आयोजनाको प्रगति समीक्षा, अर्थतन्त्र र सेवा प्रवाहसँग सम्बन्धित विषयहरूमा पनि निर्णय हुन सक्ने अनुमान गरिएको छ।
निर्वाचनको मिति नजिकिँदै गर्दा सरकारले शान्ति सुरक्षा, निष्पक्षता र विश्वसनीयता कायम गर्न आवश्यक कदम चाल्ने संकेत यसअघि नै दिँदै आएको छ। आजको मन्त्रीपरिषद् बैठकलाई त्यसै सन्दर्भमा महत्वपूर्ण रूपमा हेरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया