उम्मेदवारमाथि परेको उजुरीमाथि जाँचबुझ, आज साँझ नामावली प्रकाशन हुने

167 Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ भइरहेको छ।

निर्वाचन आयोगका अनुसार आज बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। उम्मेदवारमाथि जाँचबुझ बुधबार दिउँसो ३ बजेदेखि सुरु भएको हो र यो प्रक्रिया आज बेलुकी ५ बजेसम्म चल्ने सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो।

आयोगका अनुसार आज मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ। माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ।

शुक्रबार देशभरका ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा यी कार्यक्रमहरू सञ्चालन हुने आयोगले जनाएको छ।

आयोगका अनुसार देशभर पुरुष ३ हजार ८९, महिला ३ सय ९६ र तेस्रो लिंगी १ गरी कुल ३ हजार ४ सय ८७ जनाको उम्मेदवारी दर्ता भएको छ। तीमध्ये चार जिल्लाका पाँच उम्मेदवारविरुद्ध उजुरी परेको सहायक प्रवक्ता जिसीले जानकारी दिनुभयो। सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ का एक, रौतहट क्षेत्र नम्बर–१ का एक, भक्तपुर क्षेत्र नम्बर–२ का दुई र कैलाली निर्वाचन क्षेत्रका एक उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको हो।

हाल ती उजुरीमाथि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा जाँचबुझ भइरहेको आयोगले जनाएको छ।