काठमाडौं । मलेसियाको विस्ट्रोन टेक्नोलोजी एसडीएन बीएचडीले यो वर्ष नेपालबाट ८ सय नेपाली श्रमिक शून्य लागतमा लैजाने योजना अघि सारेको छ।
कम्पनीले वैदेशिक रोजगारीमा शून्य लागत र नैतिक भर्ती प्रणाली लागू गर्दै नेपाली कामदारलाई ऋणको बोझ बिना सुरक्षित रोजगारी उपलब्ध गराउने जनाएको छ। सन् २०२२ मा यसै प्रणालीको सुरुवात गरिएको थियो, जसले नेपालमा सुरक्षित, पारदर्शी र मर्यादित वैदेशिक रोजगारीको नयाँ मानक स्थापना गरेको थियो।
यस वर्ष कम्पनीले आकर्षण इन्टरनेसनल र लाल धनुष इन्टरनेसनल सर्भिसेज प्रालि मार्फत ६०० महिला र २०० पुरुष गरी ८०० नेपाली श्रमिक मलेसिया पठाउने तयारी गरेको छ। कम्पनीका अनुसार, “शून्य लागत भर्ती केवल नीति होइन, मानवीय मूल्य र जिम्मेवार व्यवसायिक अभ्यासको प्रतिबिम्ब हो। नेपाली कामदारलाई सुरक्षित, मर्यादित र ऋणमुक्त रोजगारी प्रदान गर्नु हाम्रो दीर्घकालीन प्रतिबद्धता हो।”
नेपाल–मलेसिया बीच सन् २०१८ मा भएको श्रम सम्झौता अनुसार नेपालबाट वैधानिक र व्यवस्थित रूपमा श्रमिक मलेसियामा जान सक्षम भएका छन्। शून्य लागत प्रणालीमार्फत गएका नेपाली श्रमिकहरूले आम्दानीबाट ऋण तिर्नु नपरी रेमिट्यान्स पठाउन सक्ने व्यवस्था छ।
आकर्षण म्यानपावरका अध्यक्ष विष्णु केसीका अनुसार, वेस्टर्न टेक्नोलोजीले मलेसिया पठाउनुअघि प्रत्येक श्रमिकका लागि १ लाख २० हजार रुपैयाँ अग्रिम खर्च गर्छ, जसबाट पासपोर्ट, भिसा, टिकट, मेडिकल परीक्षण, बिमा, पूर्व–प्रस्थान तालिम, रोजगार सम्झौता र सामाजिक सुरक्षा प्रक्रियाहरू पूरा गरिन्छ।
कम्पनीले स्पष्ट गरेको छ कि कुनै शुल्क लिन नपाइने नीति छ, र श्रमिकले पासपोर्ट आफैं राख्न पाउनेछन्। यदि कम्पनी मन नपरे १५ दिनभित्र नेपाल फर्किन सक्ने व्यवस्था पनि गरिएको छ।
मलेसियामा हाल न्यूनतम तलब १ हजार ७ सय रिंगिट तोकिएको छ, जुन नागरिक र आप्रवासी श्रमिक दुवैमा समान रूपमा लागु हुन्छ।
अध्यक्ष केसीले वैदेशिक रोजगारीमा देखा पर्ने दलाल र ठगीको समस्याप्रति चिन्ता व्यक्त गर्दै भने, “नेपाली श्रमिकलाई वैध, सुरक्षित, पारदर्शी र जिम्मेवार प्रक्रियामार्फत विदेश पठाउन प्रतिबद्ध छौँ। ठगीबाट जोगाउनु र सीपअनुसार रोजगारीमा जोड्नु हाम्रो मुख्य उद्देश्य हो।”







फेसबुकबाट तपाईको प्रतिक्रिया