साइबर सुरक्षा र ठगी रोकथामबारे दोस्रो राष्ट्रिय सम्मेलन माघ १४ गते काठमाडौंमा

173 Shares

काठमाडौं । काठमाडौं फिन्टेक र पीसीआई एसएससीको संयुक्त आयोजनामा माघ १४ गते काठमाडौंमा साइबर सुरक्षा तथा साइबर ठगी रोकथाम सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।

बैंक, वित्तीय संस्था तथा फिन्टेक क्षेत्रमा तीव्र रूपमा बढ्दै गएको साइबर जोखिम र ठगीका घटनालाई ध्यानमा राख्दै आयोजना गरिएको यस सम्मेलनमा स्वदेशी तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विज्ञहरूले साइबर सुरक्षा, ठगी नियन्त्रण र डिजिटल जोखिम व्यवस्थापनका विषयमा आफ्ना अनुभव र सुझाव प्रस्तुत गर्नेछन्।

सम्मेलनका मुख्य वक्ता भारतको केन्द्रीय बैंक (आरबीआई) को नेतृत्वमा स्थापना गरिएको बैंकिङ प्रविधि, साइबर सुरक्षा तथा अनुसन्धान तालिम केन्द्र (आईडीआरबीटी) का प्रमुख तथा पूर्व केन्द्रीय बैंकर दीपक कुमार रहनेछन्। उनले बैंकिङ क्षेत्रमा साइबर सुरक्षा, केवाईसी प्रणाली र डिजिटल जोखिम व्यवस्थापनका विषयमा विशेष सम्बोधन गर्नेछन्।

कार्यक्रमको मुख्य आकर्षण साइबर ठगीबाट बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई सुरक्षित राख्ने उपायमा केन्द्रित रहने आयोजकले जनाएको छ। नेपालमा हालसम्म अर्बौं रुपैयाँ बराबरको साइबर ठगीका घटना भइसकेका छन् भने यस्ता अपराधको संख्या र जटिलता निरन्तर बढ्दो क्रममा रहेको छ। विभिन्न प्रलोभनमार्फत ग्राहकको खातामा अनधिकृत पहुँच पुर्‍याई रकम ठगी गरिएका कैयन घटना सार्वजनिक भइसकेका छन्।

यस सन्दर्भमा भारतको एचडीएफसी बैंकले साइबर ठगी विरुद्ध हासिल गरेको सफल अनुभव विशेष रूपमा प्रस्तुत गरिनेछ। सो अभियानको नेतृत्व गरेका ख्यातिप्राप्त बैंकर मनिश अग्रवालले बैंक तथा ग्राहकलाई साइबर ठगीबाट जोगाउन अपनाइएका प्रभावकारी रणनीति, व्यवहारिक उपाय तथा वास्तविक केसहरूको अनुभव सम्मेलनमा साझा गर्नेछन्। साथै बैंकमा रहेका म्युल खाता सफल रूपमा निष्क्रिय पारिएको अनुभव पनि प्रस्तुत गरिनेछ।

त्यस्तै, भारतीय केन्द्रीय बैंकको साइबर सुरक्षा स्थायी समितिका सदस्य, इन्टरपोलका प्रशिक्षक तथा अर्न्स्ट एन्ड योङका साइबर पार्टनर कृष्ण शास्त्रीले साइबर जोखिम, अन्तर्राष्ट्रिय अभ्यास तथा नियामक दृष्टिकोणबारे प्रस्तुति दिनेछन्।

सम्मेलनमा विश्वका अग्रणी कार्ड नेटवर्क सञ्चालक भिसाका विज्ञहरूको प्रस्तुति रहनेछ भने नेपाली बैंकिङ क्षेत्रका वरिष्ठ बैंकर, साइबर सुरक्षा विज्ञ तथा विशेषज्ञहरूको सक्रिय सहभागिता रहने आयोजकले जनाएको छ।

यस सम्मेलनलाई फोनपे, इसेवा, भिसा, एससीटी र ट्युटलरले सहयोग तथा समर्थन प्रदान गरेका छन्।