महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

217 Shares

काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘बी’ को उक्त खेल बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो भने नेदरल्यान्ड्सले जिम्बाबे र स्कटल्यान्डलाई पराजित गर्दै प्रतियोगितामा बलियो सुरुआत गरेको छ। महिला टी–२०आई वरियतामा नेदरल्यान्ड्स १४औँ स्थानमा रहँदा नेपाल २१औँ स्थानमा छ। हालसम्म नेपाल र नेदरल्यान्ड्सबीच भएका तीनवटै खेलमा नेपाल पराजित भएको छ।

समूह चरणबाट अघिल्लो चरणमा पुग्न नेपालले बाँकी तीन खेलमध्ये कम्तीमा दुई खेल जित्नुपर्ने दबाबपूर्ण अवस्था छ। नेदरल्यान्ड्स भने अब एक जितले मात्र पनि अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाउनेछ।

नेपालको टोलीमा इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय, रचना चौधरी र राजमती ऐरी रहेका छन्।