पश्चिमी वायूको आंशिक प्रभाव, तराईमा हुस्सु; शुक्रबारदेखि वर्षा–हिमपातको सम्भावना

162 Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार बिहान कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको हो।

महाशाखाका अनुसार तराई भू–भागका केही स्थानमा हुस्सु लागेका कारण जनजीवन प्रभावित भएको छ। बिहीबार दिउँसो पनि तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ। यसैगरी कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

बिहीबार राति तराईका केही स्थानमा हुस्सु लाग्ने पूर्वानुमान गरिएको छ। साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ।

त्यस्तै, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा शुक्रबारदेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।