काठमाडौं । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
बुधबार दिउँसो पाल्पाको जोगिथुमबाट रिडीघाटतर्फ मलामी लिएर जाँदै गरेको लु १ च ६९८५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ । सडक घुम्ती र उकालो–ओरालो खण्डमा दुर्घटना भएको बताइएको छ ।
दुर्घटनामा घाइते भएका सबैलाई स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी रुरु प्राथमिक स्वास्थ्य केन्द्र, रिडीमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा पाल्पा रिब्दिकोट गाउँपालिका–१ का २६ वर्षीय टिकाराम कुमाललाई चिकित्सकले मृत घोषणा गरेको गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो । उहाँका अनुसार कुमालको टाउकोमा गम्भीर चोट लागेको थियो ।
प्रहरीका अनुसार अन्य आठ जना घाइतेहरूको अवस्था मध्यम रहेको छ र उनीहरूको स्वास्थ्य केन्द्रमै उपचार भइरहेको छ । आवश्यक परे थप उपचारका लागि अन्य अस्पताल रिफर गर्ने तयारीसमेत गरिएको छ ।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त सडक खण्डमा यसअघि पनि सवारी दुर्घटना हुने गरेको स्थानीयले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया