प्रतिनिधि सभा निर्वाचन: ५ उम्मेदवारविरुद्ध उजुरी दर्ता, आयोगले बिहीबार निर्णय गर्ने

191 Shares

काठमाडौं।आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार देशभर १६५ निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका ३ हजार ४८६ उम्मेदवारमध्ये ५ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।

निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै पाँचवटा उजुरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएको पुष्टि गरेको हो।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार भक्तपुर–२ मा दुई वटा, सुनसरी–२, रौतहट–१ र कैलाली–१ मा एक/एक गरी जम्मा ५ वटा उजुरी दर्ता भएका हुन्। उहाँले निर्वाचन कार्यतालिकाअनुसार बिहीबार यी उजुरीहरूको जाँचबुझ गरी निर्णय गरिने जानकारी दिनुभयो।

जारी कार्यक्रमअनुसार माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम पनि तय गरिएको छ।