काठमाडौं। अमेरिकाले थप ८० नेपाली नागरिकलाई डिपोर्ट गरी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल फर्काएको छ। डिपोर्ट हुनेमध्ये एक जना महिला समेत रहेका छन्, मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले जानकारी दिनुभयो।
नेपाल फर्केका व्यक्तिहरूबारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक छानबिनका क्रममा अधिकांशले अवैध वा जोखिमपूर्ण बाटो प्रयोग गरेर अमेरिका प्रवेश गर्ने प्रयास गरेको पाइएको छ।
एक जना डिपोर्ट भएकाले अध्ययन भिसामा अमेरिका गएका थिए भने बाँकीले विभिन्न दलालमार्फत अमेरिका पुग्दा करोडौँ रुपैयाँसम्म खर्च गरेको खुलेको छ। कतिपयले एक जना अमेरिकामा जानका लागि १ करोड ४० लाख रुपैयाँसम्म खर्च गरेको दाबी गरेका छन्।
प्रहरीले यस घटनालाई मानव बेचबिखन र अवैध आप्रवासनसँग जोडेर थप अनुसन्धान जारी राखेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया