निर्वाचनका दौरान सामाजिक सञ्जाल दुरुपयोग रोक्न सरकारद्वारा कडा निगरानी, गैरकानुनी गतिविधिमा कारबाही हुने

197 Shares

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा सामाजिक सञ्जालको प्रयोगमार्फत् हुन सक्ने दुरुपयोगका घटना रोक्न निगरानी बढाउने निर्णय गरेको छ। निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगका रूपमा सामाजिक सञ्जालबाट हुने गैरकानुनी गतिविधिमा कडाइका साथ कारबाही गर्ने सरकारको तयारी छ।

बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको नियमित बैठकमा निर्वाचन अवधिभर सामाजिक सञ्जालको दुरुपयोग बढ्न सक्ने सुरक्षा निकायका रिपोर्ट प्रस्तुत गरिएको थियो। सोही आधारमा निगरानी सशक्त बनाउने निर्णय गरिएको हो।

बैठकमा गृह र रक्षा सचिवसहित चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि सहभागी थिए। बैठकमा यसअघि नै पारित भई कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ अनुसार जिम्मेवार निकायहरूले गरिरहेका कार्य, जनशक्ति परिचालन तथा बन्दोबस्तीका योजनाको समीक्षा गरिएको थियो।

चारवटै सुरक्षा निकायले निर्वाचन सुरक्षासम्बन्धी आफ्ना तयारीबारे बिफ्रिङ गरेका थिए भने समग्र सुरक्षा अवस्था र चुनौतीबारे विस्तृत विश्लेषण गरिएको थियो।

बैठकले निर्वाचन कार्यक्रमको प्रभावकारी समन्वयका लागि गठन गरिएका सबै संयन्त्रलाई सक्रिय बनाउने निर्णय गरेको छ। साथै, राजनीतिक दल र उम्मेदवारहरूको प्रचार–प्रसार तथा अभियानलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्थालाई थप सुदृढ र भरपर्दो बनाउन सबै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णयसमेत गरिएको छ।