काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो–कोहीलाई उजुरीका आधारमा मात्र होइन, आयोगको आफ्नै अध्ययन र अनुगमनबाट पनि कारबाही गर्ने चेतावनी दिएको छ।
आयोगका सूचना अधिकारी सुमन घिमिरे ले आयोगका संयन्त्रबाट प्राप्त प्रतिवेदन र उजुरीको अध्ययन गरी कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो। उहाँका अनुसार आचारसंहिता निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरोकारवाला सबैको सहमतिमा जारी गरिएको हो।
आचारसंहिता पालना गराउने उद्देश्यले निर्वाचन क्षेत्र, जिल्ला र केन्द्रस्तर सम्म अनुगमन संयन्त्र सक्रिय बनाइएको छ। घिमिरेका अनुसार राजनीतिक दल, उम्मेदवार र मतदाता सबैले आचारसंहिता पालना गर्नुपर्ने हुन्छ। उम्मेदवारी मनोनयनका क्रममा मंगलबार केही आचारसंहिता विपरीतका गतिविधि देखिएको र ती विषय आयोगको नोटिसमा रहेको उहाँले बताउनुभयो।
“आयोगका संयन्त्रबाट आएका प्रतिवेदन र प्राप्त उजुरी दुवै आधारमा अध्ययन गरेर आवश्यक किसिमको कारबाही अघि बढाइन्छ,” उहाँले भन्नुभयो।
प्रत्यक्षतर्फ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर ३,४८६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये ३,०८९ पुरुष, ३९६ महिला र १ जना अन्य समूह बाट उम्मेदवार रहेका छन्।
राजनीतिक दल र उम्मेदवारहरूले देखाएको संयमता र शान्तिपूर्ण वातावरणका कारण मनोनयन प्रक्रिया सहज र शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ। यसले फागुन २१ गते तोकिएकै मितिमा निर्वाचन हुनेमा आयोग विश्वस्त रहेको घिमिरेले बताउनुभयो।
बुधबार: उम्मेदवारविरुद्ध उजुरी दिने
उजुरी छानबिनपछि अयोग्य ठहरिएका उम्मेदवारको नाम हटाइने
माघ ९ गते: उम्मेदवारी फिर्ता लिने समय (१०:००–१:००)
त्यसपछि अन्तिम उम्मेदवार सूची र निर्वाचन चिन्ह सार्वजनिक, मतपत्र छपाइ सुरु
फागुन ३ देखि फागुन १८ गते रातिसम्म: औपचारिक चुनावी प्रचारप्रसार
फागुन १८ गते रातिदेखि मौन अवधि लागू
मौन अवधि अघि घरदैलो र मतदातासँग भेटघाट गर्न पाइने, तर जुलुस, ¥याली र आमसभा निषेध
उल्लेखनीय छ, आगामी फागुन २१ गते हुने निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्ष र ११० सिट समानुपातिक तर्फ मतदान हुनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया