प्रतिनिधिसभा निर्वाचनः काठमाडौंका १० वटै क्षेत्रमा उम्मेदवारी दर्ता सुरु, कार्यालयहरूमा चहलपहल

165 Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्न काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा चहलपहल सुरु भएको छ।

जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार क्षेत्र–१ को निर्वाचन अधिकृतको कार्यालय काठमाडौं महानगरपालिका–३१ स्थित नयाँ बानेश्वरको सहकारी प्रशिक्षण केन्द्रमा स्थापना गरिएको छ। क्षेत्र–२ को कार्यालय कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित थलीचौरको नगरपालिका भवनमा रहेको छ।

त्यस्तै, क्षेत्र–३ को कार्यालय गोकर्णेश्वर नगरपालिका–४ स्थित वडा कार्यालयमा, क्षेत्र–४ को कार्यालय बूढानीलकण्ठ नगरपालिका–२ चपलीस्थित ज्येष्ठ नागरिक समाज भवनमा स्थापना गरिएको छ। क्षेत्र–५ को कार्यालय टोखा नगरपालिका–५ स्थित श्री समाज भवनमा रहेको छ।

क्षेत्र–६ को कार्यालय तारकेश्वर नगरपालिका–६ धर्मस्थलीस्थित नगरपालिका भवनमा स्थापना गरिएको छ भने क्षेत्र–७ को कार्यालय काठमाडौं महानगरपालिका–१६ खुसीबु, बालाजुस्थित बहुउद्देश्यीय मार्शल आर्ट्स केन्द्र (जुडो हल)मा सञ्चालनमा आएको छ। क्षेत्र–८ को कार्यालय नागार्जुन नगरपालिका–५ स्थित नगरपालिका भवनमा, क्षेत्र–९ को कार्यालय चन्द्रागिरी नगरपालिका–१२ बलम्बुस्थित नगरपालिका भवनमा र क्षेत्र–१० को कार्यालय कीर्तिपुर नगरपालिका–२ बाघ भैरवस्थित वडा कार्यालयमा स्थापना गरिएको छ।

काठमाडौंका १० वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन इच्छुक व्यक्तिहरू आउन थालेका छन्। उम्मेदवारी दर्ताका लागि सुरक्षालगायत सबै आवश्यक तयारी पूरा भएको निर्वाचन आयोग तथा जिल्ला निर्वाचन अधिकारीको कार्यालय, काठमाडौंले जनाएको छ।

मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म काठमाडौंका १० वटै निर्वाचन क्षेत्रसँगै देशभरका १६५ वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्ता गराउन सक्नेछन्। साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिने कार्यक्रम रहेको छ।

त्यसैगरी, माघ ७ गते बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिने समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ।