काठमाडौं। सभामुख देवराज घिमिरेले तीन वर्ष पूरा भएसँगै संविधानतः आफ्नो कार्यकाल समाप्त भएको उल्लेख गर्नुभएको छ।
मंगलबार एक सन्देश जारी गर्दै सभामुख घिमिरेले कार्यकाल सम्पन्न भएको जानकारी दिनुहुँदै, संविधानले प्रदान गरेको जिम्मेवारी निर्वाह गर्ने क्रममा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको हो। उहाँले आफ्नो कार्यकालमा प्रतिनिधिसभाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउने तथा संविधान कार्यान्वयनका लागि कानून निर्माण, नीतिगत बहस र कार्यपालिकामाथि प्रभावकारी निगरानीमार्फत महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्नुभएको छ।
विचार, दृष्टिकोण र राजनीतिक मतभेदका बाबजुद पनि सदनले संविधानको सर्वोच्चता, संसदीय मर्यादा र नेपाली जनताको आकाङ्क्षालाई केन्द्रमा राखेर आफ्नो कर्तव्य पूरा गरेको सभामुख घिमिरेको भनाइ छ। सरकार र प्रतिपक्षमा रहेका सबै राजनीतिक दलहरूले संसदीय बहसलाई समृद्ध तुल्याउँदै लोकतान्त्रिक मूल्य र सन्तुलन कायम गर्न खेलेको भूमिकाको उहाँले उच्च कदर गर्नुभएको छ।
सभामुख घिमिरेले संसदीय समितिहरूले विधेयक परीक्षण, सरकारी कार्यसम्पादनको अनुगमन तथा सरोकारवालासँगको अन्तरक्रियामार्फत जिम्मेवारीपूर्वक कार्यसम्पादन गरेकोमा प्रशंसा समेत गर्नुभएको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया