उत्तरी चीनतर्फ थप नाका खुलाउने सरकारको तयारी, कोरला र किमाथांका प्राथमिकतामा

207 Shares

काठमाडौं । सरकारले उत्तरी चीनतर्फका थप नाका खुलाउने तयारी थालेको छ। हाल सञ्चालनमा रहेका तातोपानी र रसुवागढी नाकामा विशेषगरी बर्खायाममा बारम्बार समस्या देखिन थालेपछि वैकल्पिक नाका विस्तारको गृहकार्य अघि बढाइएको हो।

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीका अनुसार कोरला, किमाथांका लगायतका नाकामा आवश्यक संरचना तयार गरी भन्सार बिन्दु विस्तार गर्ने काम भइरहेको छ।

उत्तरी नाकामध्ये रसुवागढी र तातोपानी मुख्य नाका मानिँदै आएका थिए। तर, रसुवा नाका गत असार २६ गते आएको बाढीका कारण बन्द भएको थियो। त्यस्तै, तातोपानी नाकामा पनि पहिरोका कारण बाटो अवरुद्ध हुँदा बर्खायाममा नियमित सञ्चालन हुन सकेको थिएन।

तातोपानी र रसुवागढी नाकामाथिको निर्भरता घट्दै गएपछि सरकारले कोरला, किमाथांका लगायतका वैकल्पिक नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी थालेको महानिर्देशक भण्डारीले जानकारी दिनुभयो।

उहाँका अनुसार जनवरी १ तारिखदेखि रसुवा नाका पुनः सञ्चालनमा आएको छ, यद्यपि हाल त्यहाँका सडकहरू एकतर्फी रूपमा मात्र सञ्चालनमा छन्। साथै, ओलाङचुङगोल, किमाथांका लगायतका अन्य नाका खोल्ने प्रयास पनि तीव्र रूपमा भइरहेको उहाँले बताउनुभयो।