निर्वाचन आयुक्त भण्डारीको उम्मेदवारलाई चेतावनी: बाजागाजा र तडकभडक नगर्न

178 Shares

काठमाडाैं । निर्वाचन आयोगका प्रमुख कार्यवाहक रामप्रसाद भण्डारी ले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र अन्य तडकभडक नगर्न सबैलाई सचेत गराएका छन्।

सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै भण्डारीले भने, “उम्मेदवारी कायम गर्न जाँदा हुने बाजागाजा पूर्ण रूपमा कानुन र आचारसंहिताले निषेध गरेको छ। यस्ता गतिविधि नगर्नुपर्छ।”

आचारसंहिता उल्लङ्घन गर्नेविरुद्ध आयोगले कठोर निर्णय लिने चेतावनी पनि उनले दिएका छन्। भण्डारीले उम्मेदवारहरूलाई निष्ठापूर्वक आचारसंहिता पालन गर्दै मनोनयन पत्र दाखिल गर्न आग्रह गरे।

उनले आगामी निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरे। “सरोकारवालाहरू, मतदाता र विदेशमा रहेका नेपालीले पनि अबको निर्वाचनमा कुनै शंका गर्नुपर्ने अवस्था नहुनेछन्,” उनले थपे।