काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा अझै कायम हुन नसकेको बताउनुभएको छ।
सोमबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकारले निर्वाचनलाई लक्षित गरी प्रभावकारी शान्ति सुरक्षाको व्यवस्था गर्न अझै नसकेको दाबी गर्नुभयो।
समाजमा विभिन्न प्रकारका आपराधिक घटनाहरू निरन्तर भइरहेको उल्लेख गर्दै उहाँले यसले सुरक्षा व्यवस्था कमजोर रहेको स्पष्ट देखाउने बताउनुभयो। अध्यक्ष ओलीका अनुसार निर्वाचन आयोगमाथि समेत प्रश्न उठ्ने अवस्था सिर्जना भएकाले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित हुनेमा आशंका पैदा भएको छ।
यद्यपि, उहाँले नेकपा एमाले जस्तोसुकै परिस्थितिमा पनि निर्वाचनमा भाग लिने स्पष्ट गर्नुभयो। उहाँले भन्नुभयो,
‘सुरक्षा प्रवन्ध अझै राम्रो हुन सकेको छैन। विभिन्न अपराधका घटना भइरहेका छन्। निर्वाचन आयोगमाथि पनि प्रश्नचिन्ह उठ्ने अवस्था छ। यद्यपि, जस्तोसुकै अवस्थामा पनि हामी चुनावमा भाग लिन्छौँ। तर शान्ति सुरक्षाको अवस्था राम्रो हुनुपर्छ, त्यो अझै बनिसकेको छैन।’
अध्यक्ष ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ कुनै पनि हिसाबले निर्वाचनको ‘इपिसेन्टर’ नरहेको पनि स्पष्ट पार्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया