स्पेनमा भीषण रेल दुर्घटना : मृत्यु हुनेको संख्या ३९ पुग्यो, दर्जनौँ घाइते

173 Shares

काठमाडौं । स्पेनमा भएको भीषण रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ भने दर्जनौँ यात्रु घाइते भएका छन्। पछिल्लो एक दशकभन्दा बढी अवधिमा यसलाई देशकै सबैभन्दा ठूलो रेल दुर्घटनाका रूपमा लिइएको छ।

म्याड्रिडतर्फ जाँदै गरेको एक रेल लिकबाट उछिट्टिएर विपरीत दिशाको ट्र्याकमा पुगेपछि अर्को रेलसँग ठोक्किँदा दुर्घटना भएको हो। स्थानीय अधिकारीहरूका अनुसार दुवै रेलमा करिब ४ सय यात्रु र कर्मचारी सवार थिए।

आपतकालीन सेवाका अनुसार कम्तीमा ७३ जनालाई अस्पताल लगिएको छ। तीमध्ये २४ जनाको अवस्था गम्भीर रहेको छ, जसमा चार जना बालबालिका पनि छन्।

स्पेनका यातायात मन्त्री ओस्कार पुएन्तेले घटनालाई ‘अत्यन्तै अचम्मको’ बताएका छन्। उनका अनुसार दुर्घटना भएको ट्र्याक गत वर्ष मे महिनामै मर्मतसम्भार गरिएको थियो र रेल सीधा ट्र्याकमै दुर्घटनाग्रस्त भएको हो।

मालागाबाट स्थानीय समयअनुसार साँझ ६ः४० बजे प्रस्थान गरेको रेल करिब १० मिनेटमै दुर्घटनामा परेको थियो। निजी रेल कम्पनी इर्यो ले सञ्चालन गरेको उक्त रेलमा करिब ३०० यात्रु थिए भने रेन्फे कम्पनीले सञ्चालन गरेको म्याड्रिड–हुएल्भा रेलमा करिब १०० यात्रु सवार थिए।

दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन। अधिकारीहरूले घटनाको औपचारिक अनुसन्धान सुरु भइसकेको जनाएका छन्। बीबीसीका अनुसार अनुसन्धानको निष्कर्ष आउन कम्तीमा एक महिना लाग्ने अनुमान गरिएको छ।

यसैबीच, स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै देशले ‘गहिरो पीडाको रात’ भोग्नुपरेको बताएका छन्।

स्पेनका राजा फेलिपे छैठौँ र रानी लेतिजियाले पनि दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रों र युरोपेली आयोगकी प्रमुख उर्सुला फोन डर लेयेनले समेत शोक सन्देश व्यक्त गरेका छन्।

यसअघि सन् २०१३ मा स्पेनको उत्तर–पश्चिमी क्षेत्र गालिसियामा भएको उच्चगतिको रेल दुर्घटनामा ८० जनाको मृत्यु र १४० जना घाइते भएका थिए, जुन हालसम्मकै सबैभन्दा भयावह रेल दुर्घटना मानिन्छ।