काठमाडौं । पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको आज निधन भएको छ। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित आफ्नै निवासमा ८२ वर्षको उमेरमा उनको निधन भएको हो।
वडाध्यक्ष मोतीलाल तामाङका अनुसार उप्रेतीको आज बिहान करिब ३ बजे निधन भएको हो। लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित उप्रेतीलाई उनकी श्रीमतीको कोरोनाकालमा निधन भएपछि भतिजा विष्णुबहादुर उप्रेतीले रेखदेख गर्दै आएका थिए।
लामो समय वामपन्थी आन्दोलनमा सक्रिय रहेका उप्रेती मध्यपूर्वीय क्षेत्रमा ‘रातो बाघ’ उपनामले परिचित थिए।
तत्कालीन समयमा सांसद हुँदै श्रम राज्यमन्त्री बनेका उप्रेतीले नेपाल मजदुर किसान पार्टी (माले) बाट एकीकृत भएपछि एमालेको राजनीति गरेका थिए। एमाले विभाजनपछि (नेकपा) माले र त्यसपछि केही समय स्वतन्त्र राजनीतिक जीवन बिताएका उनले पछिल्ला वर्षहरूमा तत्कालीन माओवादी केन्द्रसँग आबद्ध भई वामपन्थी आन्दोलनमा सक्रियता जनाउँदै आएका थिए।
काभ्रेपलाञ्चोक जिल्लाको समग्र विकास र विशेषगरी कोशीपूर्व क्षेत्रको विकासमा उनको उल्लेखनीय योगदान रहेको बताइन्छ।
उनको आजै दोलालघाटमा अन्त्येष्टि गरिने वडाध्यक्ष मोतीलाल तामाङले जानकारी दिएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया