जनकपुरधाम। संघीय राजधानी काठमाडौंको मेयरबाट राजीनामा दिएकै दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह मधेश प्रदेशको राजधानी जनकपुर पुगेका छन्।
आज यहाँ बालेनले रास्वपाको चुनावी प्रचार अभियान सुरु गरेका छन्। पार्टी सभापति रवि लामिछानेसँगै उनी धोती–कुर्ता लगायत मधेशी पहिचान झल्काउने पोशाकमा देखिनेछन्।
संघीयताविरोधी भनेर चर्चा भइरहेका बालेन मूलतः मधेशकै महोत्तरी जिल्लाको एकडारा गाउँका नागरिक हुन्। उनका पिताले परिवारलाई महोत्तरीबाट काठमाडौं सार्दा बालेनको हुर्काइ–बढाइ काठमाडौंमै भएको हो।
बालेनले आफ्नो अभियान शहीद रमेश महतोको शालिकमा फूलमाला अर्पण गरेर सुरु गरेका छन्। रमेश महतो १९ वर्षअघि (०६३ माघ ५) मधेश आन्दोलनको सुरुवातका क्रममा शहीद भएका थिए।
तीन वर्षअघि भएको आम चुनावमा रास्वपा देशभरि प्रभावशाली देखिएको भए पनि मधेशमा सीमित मत मात्र पाएको थियो। झन्डै ३४ लाख मतदाता रहेको मधेशबाट रास्वपाले जम्मा एक लाख सात हजार मत पाएको थियो। पहाडी मतदातामा प्रभाव जम्दा मधेशमा सीके राउत र रेशम चौधरीको प्रभाव रहेकाले यसपल्ट रास्वपा मधेश प्रदेशबाट अभियान थाल्दैछ।
रास्वपा केन्द्रीय सदस्य शिव यादवका अनुसार, बालेनको मधेश यात्राले मधेश आन्दोलन र संघीयताको अपनत्व लिएको सन्देश दिएको छ। ‘बालेनले संघीयता र समावेशीतालाई स्पष्ट स्वीकार गरेको सन्देश यो यात्राबाट प्राप्त भएको छ,’ यादवले बताए।
जानकी मन्दिरमा पूजा अर्चना गरेर अभियान थालेका बालेनले मधेशका युवाहरूको साथ पनि पाएका छन्। विगतमा मधेश आन्दोलनमा लागेका नेताहरू मधेशवादी दलमा विभाजित भइसकेको अवस्थामा बालेनको मधेशयात्रा राजनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया