इरानमा दमनपछि मध्यपूर्वमा तनाव उत्कर्ष, अमेरिका–इरानबीच युद्धको चेतावनी

173 Shares

इरानमा जारी देशव्यापी प्रदर्शन र त्यसपछिको सरकारी दमनका कारण मध्यपूर्वमा तनाव चरम बिन्दुमा पुगेको छ। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीमाथि हुने कुनै पनि आक्रमणलाई पूर्ण युद्ध मानिने तेहरानको चेतावनी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य धम्कीले स्थिति थप भयावह बनेको हो।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरान सरकारलाई चेतावनी दिँदै शान्तिपूर्ण प्रदर्शनकारीहरूको हत्या जारी रहे अमेरिकाले सैन्य हस्तक्षेप गर्न सक्ने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत ‘मद्दत आउँदैछ’ भन्दै इरानी जनतालाई संस्थापन पक्षविरुद्ध उभिन उक्साएका थिए।

तर पछिल्ला दुई दिनमा इरानले सामूहिक मृत्युदण्ड रोक्ने संकेत दिएपछि ट्रम्पले आफ्नो आक्रमण योजना तत्कालका लागि स्थगित गरेको बुझिएको छ।

यसबीच इरानका सर्वोच्च नेता खामेनीले ट्रम्पलाई अपराधीको संज्ञा दिँदै प्रदर्शनको पछाडि अमेरिका र इजरायलको हात रहेको दाबी गरेका छन्।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले सर्वोच्च नेताको सुरक्षामा आँच आउने कुनै पनि कदम चालिएमा इरानले कडा सैन्य प्रतिवाद गर्ने चेतावनी दिएका छन्, जसले क्षेत्रीय युद्धको रूप लिन सक्ने उनको भनाइ छ।

गत ८ जनवरीदेखि इरानमा लगाइएको इन्टरनेट प्रतिबन्धका कारण आन्दोलनबाट भएको वास्तविक क्षतिको विवरण प्राप्त गर्न कठिन भएको छ। मानवअधिकारवादी संस्थाहरूले ३ हजार ४ सयभन्दा बढीको ज्यान गएको पुष्टि गरे पनि केही स्रोतहरूले मृतकको संख्या २० हजारसम्म पुग्न सक्ने बताएका छन्।

तेहरानका अस्पतालहरू घाइते प्रदर्शनकारीहरूले भरिएका छन् भने हजारौँ मानिसलाई हिरासतमा लिइएको बताइएको छ।

अमेरिकाले इरानसँग व्यापार गर्ने देशहरूमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको छ, जसले इरानको अर्थतन्त्रलाई थप दबाबमा पारेको छ। संयुक्त राष्ट्रसंघले इरानमा भइरहेको हिंसाप्रति गहिरो चिन्ता व्यक्त गर्दै तत्काल दमन रोक्न आग्रह गरेको छ।

पछिल्ला प्रतिवेदनअनुसार इरानमा प्रदर्शनकारीहरूको मृत्यु हुने संख्या ३ हजार ३ सयदेखि २० हजारसम्म पुग्न सक्ने अनुमान गरिएको छ। द सन्डे टाइम्स का अनुसार मृतकको संख्या करिब १६ हजार ५ सय र घाइतेको संख्या ३ लाख ३० हजारसम्म हुन सक्ने उल्लेख छ।

इरानका सर्वोच्च नेता खामेनीले जनवरी १७ मा पहिलोपटक ‘हजारौँ’ मानिस मारिएको स्वीकार गरेका छन्। तर उनले यसको जिम्मेवारी प्रदर्शनकारी र विदेशी शक्तिमाथि लगाएका छन्।