तराईमा हुस्सु, हिमाली क्षेत्रमा आंशिक बदली

168 Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा सामान्यतया बदली रहेको छ भने पहाडी भू–भागमा आंशिक बदली देखिएको छ। बाँकी हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, तराईका केही स्थानमा हुस्सु लागेका कारण जनजीवन प्रभावित भएको छ।

सोमबार दिउँसो पनि तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ, जसले दैनिक जनजीवनमा असर पुर्‍याउन सक्ने महाशाखाले जनाएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

त्यसैगरी, सोमबार राति तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ। पहाडी तथा हिमाली भू–भागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।