एक महासेनानी सहायक रथीमा बढुवा, मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक

133 Shares

काठमाडौं । सरकारले नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको छ। साथै, एक जना सहायक रथीको सरुवा पनि गरिएको छ।

आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले माघ २ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्नुभएको हो।

प्रवक्ता खरेलका अनुसार बैठकले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि विश्व वातावरण सुविधा (GEF) बाट विश्व वन्यजन्तु कोष (WWF) मार्फत प्राप्त हुने अमेरिकी डलर ३६ लाख २१ हजार ९ सय ८३ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

त्यस्तै, स्वच्छ वायु तथा समृद्धि परियोजनाका लागि सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता प्राप्त गर्ने विषयमा विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरिएको छ।

बैठकले २०८२ फागुन १२ देखि १५ गतेसम्म थाइल्याण्डमा आयोजना हुने १३औँ एसिया–प्रशान्त सतत विकास फोरममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने निर्णय पनि गरेको छ।

मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरू:

  • नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूह, हाइड्रो जियोलोजी उपसमूहका राप प्रथम श्रेणीका अधिकृत देवकुमार स्याङ्बोलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय वा सोअन्तर्गत पदस्थापन गर्ने।

  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विभागमा कार्यरत सुपरिटेन्डिङ इन्जिनियर सुशील कुमार देवकोटाको राजीनामा स्वीकृत गर्ने।

  • बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने।

  • उच्च अदालतका पूर्व न्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएका बेथितिसम्बन्धी जाँचबुझ आयोग–२०८२ गठन गर्ने।

  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) को उपाध्यक्ष पदमा महोमद सफी उल्लाह (रौतहट) लाई मनोनयन गर्ने।

  • २०८२ फागुन १२ गते जापानको टोकियोमा आयोजना हुने दोस्रो जापान–नेपाल इम्प्लोयमेन्ट कन्फ्रेन्समा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेलाई स्वीकृति प्रदान गर्ने।

  • २०८२ फागुन ४ देखि ७ गतेसम्म भुटानको थिम्पुमा सञ्चालन हुने ‘सेकेन्ड माउन्टेन कनेक्ट इन्टर–रिजनल वर्कसप’मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति दिने।