उम्मेदवार चयनमा समय अभाव, निर्वाचन आयोगले मनोनयन मिति सार्ने संकेत

196 Shares

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने दलहरूलाई उम्मेदवार चयनमा समयको चाप परेपछि निर्वाचन आयोगले मनोनयन दर्ताको समय केही दिन सार्ने संकेत गरेको छ।

दलहरूका तर्फबाट मनोनयनको मिति सार्नका लागि औपचारिक तथा अनौपचारिक रूपमा आयोगमा माग पुगिरहेको जनाइएको छ। यही कारणले आयोगले केही दिन समय थप्ने सम्भावनाबारे छलफल अघि बढाएको हो।

आयोगका एक आयुक्तका अनुसार विभिन्न दलबाट मिति सार्न दबाब आएको छ। प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको मितिबारे उनले भने, “चौतर्फी दबाब आएको छ, सर्वदलीय सहमति भए एक–दुई दिन मिति सर्न सक्छ।”

२१ फागुनमा तोकिएको निर्वाचनको मिति प्रभावित नहुने गरी मनोनयनको समय सार्ने तयारी गरिएको आयोग स्रोतको भनाइ छ।

यसैबीच, निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ। देउवा पक्षले आयोगमै पुगेर पनि मनोनयनको मिति सार्न आग्रह गरेको जनाइएको छ।