काठमाडौं । सर्वोच्च अदालत प्रशासनले निर्वाचन आयोगको निर्णयविरुद्ध दायर रिटको पेशी यही माघ ६ गतेका लागि तोकिएको जानकारी दिएको छ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उक्त रिट दर्ता गराउनुभएको हो। आइतबारै रिट दर्ता गरी सोही दिन पेशी तोक्न आग्रह गरिए पनि सर्वोच्च प्रशासनले नियमावलीका कारण आइतबार पेशी तोक्न सम्भव नभएको जनाएको छ। प्रशासनका अनुसार आइतबार मुद्दा दर्ता भए पनि सोही दिन पेशी चढाउने कानुनी व्यवस्था छैन।
निर्वाचन आयोगको निर्णयका कारण नेपाली कांग्रेसको दुई तिहाइ शक्ति पार्टीविहीन हुने र चुनावमा सहभागी हुन नपाउने अवस्था आउन सक्ने भन्दै कार्यवाहक सभापति खड्कासहितका नेताहरूले तत्काल पेशी तोक्न आग्रह गरेका थिए।
यसैबीच, देउवा समूहको गत शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक तथा कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो।
थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरी नयाँ कार्यसमिति चयन गरेका छन्। उक्त महाधिवेशनबाट गगन थापा सभापतिमा चयन हुनुभएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया