पाँच स्वास्थ्य व्यवसायी संगठनद्वारा आमरण अनसन, माग सुनुवाइ नभएसम्म जारी रहने चेतावनी

143 Shares

काठमाडौं । मागहरू सुनुवाइ नभएको भन्दै पाँच वटा स्वास्थ्य व्यवसायी संगठनका प्रतिनिधिले आमरण अनसन सुरू गरेका छन्। नेपाल सिएमए संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायको नेतृत्वमा काठमाडौंको सिफल चौरमा ३० पुसदेखि अनसन बसिरहेको छ।

नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, मेडिकल ल्याबोटरी एसोसिएसन, नेपाल सिएमए संघ र हेल्थ असिस्टेन्ट संघ नेपालले गठन गरेको संयुक्त संघर्ष समितिको तर्फबाट उपाध्याय अनसनमा बसेका हुन्। अनसन सुरु भएको पाँच दिन बितिसक्दा पनि सरकारी तर्फबाट मागबारे कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

संयुक्त संघर्ष समितिका अनुसार नेपाल स्वास्थ्य व्यवसायी परिषद् लामो समयदेखि कानुनी, संरचनागत तथा प्रतिनिधित्वसम्बन्धी गम्भीर समस्यामा अल्झिएको छ। परिषद् ऐन २०५३ जारी भएको झन्डै तीन दशक बितिसक्दा पनि ऐनको दफा ४(२) अनुसार परिषद् पूर्ण रूपमा गठन हुन नसकेको, समयमै पदाधिकारी नियुक्ति नभएको र सबै पेशागत समूहको समावेशी प्रतिनिधित्व सुनिश्चित हुन नसकेको उनीहरूको गुनासो छ।

परिषद्मा आवश्यक सदस्य संख्या नपुग्दा स्वास्थ्यकर्मीको दर्ता, नवीकरण, निरन्तर पेशागत विकास, अनुशासनात्मक कारबाही तथा नियमनजस्ता नियमित कार्य प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उनीहरूले बताएका छन्। त्यसैगरी स्वास्थ्यकर्मी तथा नर्सहरूको लागि विगतमा भएको सहमति अनुसारको तलब–भत्ता तत्काल लागू गर्नुपर्ने माग पनि उनीहरूले अघि सारेका छन्।

संयुक्त संघर्ष समितिले यी मागहरू पूरा नभएसम्म आमरण अनसन जारी रहने चेतावनी दिएको छ। यसैबीच, नेपाल चिकित्सक संघले पनि संयुक्त संघर्ष समितिले अघि सारेका मागहरू र सुरु गरेको आमरण अनसनप्रति ऐक्यबद्धता जनाएको छ।