पश्चिमी वायूको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरोको असर

146 Shares

काठमाडौं । हाल देशैभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली देखिएको छ भने बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू–भागका केही स्थानमा भने हुस्सु लागेको छ।

महाशाखाका अनुसार तराईमा बिहानपख लाग्ने हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने देखिएको छ। त्यसैले दैनिक अद्यावधिक मौसमी सूचनाको जानकारी लिन महाशाखाले अनुरोध गरेको छ।

आइतबार दिउँसो तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ। यसका साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

त्यसैगरी, आइतबार राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने र कोशी तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी भू–भागमा भने मौसम प्रायः सफा रहनेछ।