ग्रीनल्यान्ड गाभ्ने योजनामा विरोध गर्ने देशमाथि कर लगाउने ट्रम्पको धम्की

168 Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्ड गाभ्ने आफ्नो उद्देश्यमा समर्थन नगर्ने देशहरूमाथि कर (ट्यारिफ) लगाउन सकिने चेतावनी दिनुभएको छ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले ग्रीनल्यान्डसम्बन्धी आफ्नो योजनामा विरोध गर्ने देशहरूलाई लक्षित गर्दै कर लगाउने सम्भावना रहेको बताएकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

ग्रीनल्यान्ड नेटो सदस्य राष्ट्र डेनमार्कको स्वायत्त क्षेत्र हो। ट्रम्पको योजनाको डेनमार्क र ग्रीनल्यान्डसहित अन्य मुलुकहरूले पनि विरोध गर्दै आएका छन्।

यसअघि नै अमेरिकाले ग्रीनल्यान्डमा सयभन्दा बढी सैनिक स्थायी रूपमा तैनाथ गरिसकेको छ। डेनमार्कसँगको विद्यमान सम्झौता अनुसार अमेरिकालाई आवश्यकताअनुसार सैनिक पठाउने अधिकार भए पनि ट्रम्पले रुस वा चीनबाट हुन सक्ने सम्भावित आक्रमणको बहानामा ग्रीनल्यान्डलाई अमेरिकी स्वामित्वमा लिनुपर्ने तर्क गर्दै आउनुभएको छ।

डेनमार्कले सैन्य कारबाही भए उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) कमजोर हुन सक्ने चेतावनी दिएको छ। युरोपेली साझेदार राष्ट्रहरूले डेनमार्कको समर्थन जनाउँदै फ्रान्स, जर्मनी, स्विडेन, नर्वे, फिनल्यान्ड र बेलायतले आफ्ना सैनिकको सानो समूह ग्रीनल्यान्ड पठाएका छन्।