काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याललाई जिम्मेवारीबाट हटाएर महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
उनको स्थानमा महिला मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ। यसअघि पनि सचिव अर्याललाई सञ्चार मन्त्रालयबाट हटाउने प्रयास भए पनि सफल हुन सकेको थिएन।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्बद्ध स्रोतका अनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सचिव अर्यालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पटक–पटक सरुवाको प्रस्ताव गरेका थिए। पछिल्लो समय मन्त्रालय र मातहतका निकायमा सुधार सम्भव नभएको निष्कर्षसहित मन्त्री खरेलले अनिवार्य सरुवाका लागि जोड दिएका थिए।
सञ्चार मन्त्रालयसम्बद्ध स्रोतका अनुसार नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कामा सचिव अर्यालको अस्वाभाविक चासो र रुचि देखिएको भन्दै मन्त्रालयभित्र गुनासो बढ्दै गएको थियो। सचिव अर्याल नेपाल टेलिकम सञ्चालक समितिको पदेन अध्यक्षसमेत हुन्।
गत मंसिरमा सञ्चार मन्त्रालयले गठन गरेको अध्ययन समितिले टेलिकमको बिलिङ प्रणालीसम्बन्धी टेण्डर प्रक्रियामा मिलेमतो भएको र सार्वजनिक खरिद ऐन विपरीत काम भएको निष्कर्ष निकालेको थियो। पूर्वसचिव मणिराम गेलालको नेतृत्वमा गठित समितिले प्राविधिक मापदण्ड निर्माणमा समेत प्रश्न उठाएको थियो।
प्रधानमन्त्री कार्यालयसम्बद्ध स्रोतका अनुसार अध्ययन समितिको निष्कर्षपछि पनि टेलिकमको संस्थागत सुधारमा प्रभावकारी पहल नदेखिएपछि सचिव अर्याललाई अन्य मन्त्रालयमा सरुवा गर्ने निर्णय भएको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया