काठमाडौं । निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रसहित निर्वाचन सामग्री ढुवानीका लागि १३ वटा व्यावसायिक संस्थालाई सूचीकृत गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र तथा अन्य अत्यावश्यक सामग्री ढुवानी गर्न कुरियर सेवातर्फ दुई वटा फर्म छनोट गरिएको आयोगले जनाएको छ। छनोट भएका फर्ममा साझा कुरियर एण्ड कार्गो र ट्रान्स एयर इन्टरनेशनल लजिस्टिक प्रालि रहेका छन्।
आयोगले हेलिकोप्टर सेवाका लागि पनि फर्म वा कम्पनीलाई सूचीकृत हुन आग्रह गरेको भए पनि कुनै पनि फर्मले आवेदन दर्ता नगराएको जनाएको छ।
त्यसैगरी ट्रक तथा कन्टेनर सेवा उपलब्ध गराउने प्रयोजनका लागि ११ वटा फर्म सूचीकृत भएका छन्। सूचीकृत सेवा प्रदायकमा हिमालयन कार्गो लजिस्टिक, वासुकी ट्रान्सपोर्ट, चितवन रोडवेज क्यारियर, न्यू भैरव ट्रान्सपोर्ट, अदिति ट्रान्सपोर्ट, ओम ट्रान्सपोर्ट, हरहर महादेव ढुवानी सेवा, देउती बज्यै कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, कृष्ण ट्रान्सपोर्ट, धवलागिरि कालिका कन्स्ट्रक्सन एण्ड सप्लायर्स तथा एयर मनकामना कुरियर एण्ड कार्गो प्रालि रहेका छन्।
आयोगका अनुसार गत पुस १७ गते प्रकाशित सार्वजनिक सूचनाअनुसार प्राप्त निवेदनहरूलाई तोकिएको मापदण्ड र वार्षिक औसत कारोबारका आधारमा मूल्याङ्कन गरी ती सेवा प्रदायक फर्महरू सूचीकृत गरिएको हो। आवश्यकताअनुसार ती संस्थालाई निर्वाचन सामग्री आपूर्तिका लागि परिचालन गरिने आयोगले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया