काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा अस्थायी रूपमा बिजुली आपूर्ति बन्द गर्ने भएको छ। महाराजगञ्ज वितरण केन्द्र मातहतका क्षेत्रमा प्राविधिक कार्यका कारण विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ।
काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत राष्ट्रपति भवन शितल निवास क्षेत्रको वितरण प्रणाली भूमिगत गर्ने काम भइरहेको छ। भूमिगत कार्य सम्पन्न भइसकेका केबलमा प्राविधिक उपकरण जडान गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति रोक्न लागिएको हो।
प्राधिकरणका अनुसार पानीपोखरी फिडरअन्तर्गत साङ्ग्रिला होटल अगाडि, लाजिम्पाट, पानीपोखरीका विभिन्न क्षेत्र, महाराजगञ्ज तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म बिजुली कटौती हुनेछ।
त्यसैगरी राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि सोही समयसम्म विद्युत् आपूर्ति बन्द रहनेछ। बालुवाटार, चुनदेवी र पञ्चकन्या आसपासका क्षेत्रसमेत प्रभावित हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले विद्युत् कटौतीबाट पर्न जाने असुविधाप्रति क्षमा माग्दै निर्धारित समयअगावै काम सम्पन्न भएमा त्यसअघि नै बिजुली आपूर्ति सुचारु गरिने जानकारी दिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया