काठमाडौं — नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद निर्वाचन आयोगको कार्यालयमा शक्ति प्रदर्शनको रूपमा प्रकट भएको छ। पार्टीको संस्थापन पक्ष शेरबहादुर देउवा नेतृत्व र विशेष महाधिवेशन पक्ष गगन थापा नेतृत्व दुवैले एक–अर्काविरुद्ध आधिकारिकताको दाबी गर्दै आयोग परिसरमा धर्ना तथा प्रदर्शन गरेका हुन्।
विशेष महाधिवेशनबाट गगन थापालाई सभापति चयन गरिएको दाबी गर्ने पक्षले बिहीबार आयोगमा आधिकारिकताको मागसहित निवेदन दर्ता गराएको थियो। त्यसको प्रतिवादस्वरूप शुक्रबार बिहानै देउवा पक्षका शीर्ष नेता तथा कार्यकर्ताहरूको ठूलो टोली आयोग पुगेको हो।
आयोग परिसरमा देउवा पक्षका नेताहरूले आफूहरू नै वैधानिक कांग्रेस भएको जिकिर गर्दै विशेष महाधिवेशनलाई पार्टी विधानविपरीत भएको भन्दै आलोचना गरेका छन्। उनीहरूले आयोगले विधान, संविधान र कानूनविपरीत निर्णय गरेमा देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।
यता, गगन थापा पक्षले पनि आयोगमा दबाब बढाउँदै धर्ना तथा प्रदर्शन गरेको छ। उनीहरूले बहुमत महाधिवेशन प्रतिनिधिको समर्थनमा विशेष महाधिवेशनबाट चयन भएको नेतृत्व नै आधिकारिक भएको दाबी गरेका छन्। विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति गठन भइसकेको र पुरानो समिति स्वतः भंग भएको उनीहरूको तर्क छ।
निर्वाचन आयोगले दुवै पक्षका निवेदन तथा दाबीमाथि छलफल जारी रहेको जनाएको छ। आयोगको निर्णय संविधान, राजनीतिक दलसम्बन्धी ऐन, पार्टी विधान र विगतका नजिरका आधारमा गरिने बताइएको छ।
कांग्रेसको यो विवादले आगामी निर्वाचनमा समेत प्रभाव पार्न सक्ने आशंका गरिएको छ। पार्टीको नाम, चुनाव चिन्ह ‘रुख’ र झण्डाको आधिकारिकता कसले पाउने भन्ने विषयमा आयोगको निर्णय निर्णायक हुने देखिन्छ। दुवै पक्षले आयोगको निर्णयलाई चुनौती दिने तयारी गरिरहेका छन्।
यस घटनाक्रमले नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस औपचारिक विभाजनको संघारमा पुगेको संकेत गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया