काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस विभाजनतर्फ उन्मुख हुनु मुलुकको लोकतन्त्रका लागि चिन्ताको विषय भएको बताउनुभएको छ।
शुक्रबार काठमाडौंमा आयोजित पार्टीको राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले विशेष महाधिवेशनको नाममा पार्टी विधान लत्याएर सडकबाट बहुमत जुटाउने प्रयासले लोकतन्त्र र समाजलाई अराजकतर्फ धकेल्ने प्रपञ्च रचिएको जिकिर गर्नुभयो। कांग्रेस विभाजनको अवस्थाले आफूलाई चकित बनाएको पनि उहाँले उल्लेख गर्नुभयो।
अध्यक्ष ओलीले शान्ति, सुशासन र लोकतन्त्रको संरक्षणका लागि सानातिना असन्तुष्टि थाँति राख्दै एकताबद्ध भएर अघि बढ्न सिंगो पार्टी पंक्तिलाई आग्रह गर्नुभयो। उहाँले शान्ति, संविधान र लोकतन्त्रको रक्षाका लागि सबै शक्ति एकजुट भएर लड्नुपर्ने अवस्था आएको बताउनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया