काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद छिटो टुंग्याउन निर्वाचन आयोगमाथि समयको चर्को दबाब परेको छ। कांग्रेसका दुवै समूहका नेताहरू एकपछि अर्को गर्दै निर्वाचन आयोग पुगेर दबाब बढाइरहेका छन्।
ज्ञापनपत्र बुझाउने, ध्यानाकर्षण गराउने र कागजात पेस गर्ने क्रममा दुवै पक्षका नेताहरूले श्रृङ्खलाबद्ध रूपमा आयोगका पदाधिकारीहरू भेटिरहेका छन्। यसरी चौतर्फी दबाब बढेपछि निर्वाचनका नियमित काम प्रभावित हुन थालेको निष्कर्षसहित आयोगले सक्दो छिटो निर्णय सुनाउने संकेत दिएको छ।
भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएसँगै गगन–विश्व समूहले निर्वाचन आयोगमा विशेष महाधिवेशन भइरहेको जानकारी गराएको थियो। त्यसको प्रतिवादमा देउवा समूहले भृकुटीमण्डपमा कुनै विशेष महाधिवेशन नभएको भन्दै आयोगमा पत्र बुझाएको थियो।
महाधिवेशनपछि देउवा र गगन–विश्व दुवै समूहले पार्टी अभिलेख अद्यावधिकका लागि आयोगमा निवेदनसहित फाइल पेस गरेका छन्। यसैक्रममा शुक्रबार बिहान देउवा पक्षले विशेष महाधिवेशनमा हस्ताक्षर फिर्ता लिएको भन्दै करिब ५ सय जनाको सूची निर्वाचन आयोगमा बुझाएको थियो।
देउवा पक्षले आयोगमा पुगेर अप्रत्यक्ष रूपमा धम्की र दबाब दिएको निष्कर्षसहित गगन–विश्व समूह पनि निर्वाचन आयोग पुगेको हो।
निर्वाचन आयोगसम्बद्ध एक स्रोतले भन्यो,
‘यी त आयोग परिसरमा देखिएका गतिविधि मात्र हुन्, नदेखिएका फोन, दबाब र अन्य क्रियाकलाप कति होलान्। आयोगका पदाधिकारीहरू अत्यन्त दबाबपूर्ण अवस्थामा छन्। तत्काल निर्णय दिनुपर्ने मनस्थितिमा काम भइरहेको देखिन्छ।’
उक्त स्रोतका अनुसार शुक्रबार अपराह्नसम्म सम्भव भएसम्म निर्णय आउने, नभए शनिबारसम्म आयोगले कुनै निष्कर्ष दिन सक्ने सम्भावना छ।
‘सोमबार सार्वजनिक बिदा र मंगलबार देशव्यापी मनोनयन भएकाले पनि आयोगलाई छिटो निर्णय दिन दबाब परेको छ,’ स्रोतले भन्यो।
यता, निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोग हाल राजनीतिक दलहरूसँग छलफलमै व्यस्त रहेको बताए।
‘अझै केही भेटघाट र छलफल बाँकी छन्,’ उनले भने, ‘त्यसपछि मात्रै आयोगको बैठक बस्ने सम्भावना छ। आजै के हुन्छ भनेर अनुमान गर्न सक्दिनँ, ढिलोसम्ममा केही जानकारी आउला।’
फेसबुकबाट तपाईको प्रतिक्रिया