विधानविपरीत विशेष महाधिवेशन गरिएको भन्दै पूर्णबहादुर खड्काको आपत्ति

186 Shares

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका नेता तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विधानविपरीत विशेष महाधिवेशनको नाममा भेला आयोजना गरिएको भन्दै आपत्ति जनाएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा धारणा राख्दै खड्काले नेपाली कांग्रेस विधानअनुसार मात्रै सञ्चालन हुने स्पष्ट पारे। उनले संविधान र लोकतन्त्रको रक्षा गर्ने दायित्व राजनीतिक दलहरूको काँधमा रहेको उल्लेख गर्दै पार्टीभित्रैबाट अनुशासन उल्लंघन भएको आरोप लगाए।

‘पार्टी विधानअनुसार चल्छ। राजनीतिक दलको काँधमा संविधान रक्षा गर्ने दायित्व छ,’ खड्काले भने, ‘विषम परिस्थितिमा पार्टीभित्रैबाट केही व्यक्तिहरूले विशेष महाधिवेशनको नाममा पार्टी अनुशासनभन्दा बाहिर गएर गतिविधि गरेका छन्। विशेष महाधिवेशनको नाममा भेला बोलाएर पार्टी विधानविपरीत निर्वाचन आयोग पुगेको जानकारी पायौँ।’

उनले आफूहरू आज निर्वाचन आयोगमा गई नेपाली कांग्रेसको वैधानिकता, विधान र पार्टीको आधिकारिकतासम्बन्धी विषयमा गम्भीर ध्यानाकर्षण गराएर फर्किएको बताए।

खड्काले पार्टीको अधिवेशन तथा विशेष महाधिवेशन गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै रहेको स्पष्ट पारे।
‘पार्टीको अधिवेशन र विशेष महाधिवेशन गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै छ,’ उनले भने, ‘नेपाली कांग्रेसको विधानले यो अधिकार कसैलाई पनि दिएको छैन। यो कुरा विधानका धारा र दफाहरूमा स्पष्ट उल्लेख छ।’

केन्द्रीय कार्यसमितिको निर्णयबिना विशेष महाधिवेशन हुन नसक्ने दोहोर्‍याउँदै उनले थपे, ‘केन्द्रीय समितिलाई थाहै नदिई विशेष महाधिवेशन कसरी भयो भन्ने कुरा गम्भीर छ।’

विशेष महाधिवेशन मागसम्बन्धी निवेदनबारे उल्लेख गर्दै खड्काले भने, ‘नियमित महाधिवेशन गरियोस्, नभए विशेष महाधिवेशन गरियोस् भन्ने मागसहित निवेदन दर्ता भएको थियो। यही आधारमा हामीले नियमित महाधिवेशन गर्ने प्रक्रिया अघि बढाएका थियौँ। तर पछिल्लो घटनाक्रमले संशोधन गर्नुपर्ने अवस्था आएको छ।’