काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै गगन थापा नेतृत्वको टोली निर्वाचन आयोग पुगेको छ।
आजै यसअघि शेरबहादुर देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक भएको दाबी गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्का, डा. शेखर कोइरालालगायत नेताहरू निर्वाचन आयोग पुगेका थिए। उनीहरू फर्किएपछि गगन थापा, विश्वप्रकाश शर्मासहितका नेताहरू आयोग कार्यालय पुगेका हुन्।
गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा गत पुसको अन्तिम साता काठमाडौंमा विशेष महाधिवेशन सम्पन्न भएको थियो। उक्त विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको दाबी गरिएको छ।
तर, देउवा पक्षले उक्त विशेष महाधिवेशन अवैधानिक भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। देउवा र थापा दुवै पक्षले आफूहरू नै नेपाली कांग्रेसको आधिकारिक नेतृत्व भएको दाबी गर्दै आयोगमा छुट्टाछुट्टै निवेदन दिएका छन्।
यसअघि बिहीबार पनि गगन थापासहितको टोलीले विशेष महाधिवेशन सम्पन्न भएको विवरण अद्यावधिक गरी पाउँ भन्दै कागजातसहित निर्वाचन आयोगमा निवेदन बुझाएको थियो।
निर्वाचन आयोगले कांग्रेसका दुवै पक्षको दाबीबारे विधि र पद्धतिअनुसार निर्णय आउने स्पष्ट पारेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया