काठमाडौं । नेपाली कांग्रेसका दुई प्रतिस्पर्धी समूहले शुक्रबार दिउँसो २ बजे छुट्टाछुट्टै कार्यक्रम तय गरेका छन्।
१४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आयोजनामा हुने पत्रकार सम्मेलनमा सहभागी हुन सञ्चारकर्मीहरूलाई आग्रह गरेका छन्।
उक्त पत्रकार सम्मेलनमा हाल देखिएको पार्टीको आधिकारिकता विवाद र समसामयिक राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गरिने जनाइएको छ।
उता, विशेष महाधिवेशनमार्फत सभापति निर्वाचित भएको दाबी गर्ने गगन थापा नेतृत्वको समूह पनि आजै निर्वाचन आयोग जाने भएको छ। गत पुस २७ देखि ३० गतेसम्म विशेष महाधिवेशन गर्दै १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित गगन थापालाई सर्वसम्मत सभापति चयन गरिएको दाबी गर्दै आएको उक्त समूहले पार्टीको आधिकारिकता माग गर्दै कागजातसहित निर्वाचन आयोग पुग्ने तयारी गरेको हो।
विशेष महाधिवेशनको जनपरिचालन समितिका सदस्यसचिव सुसन वैद्यले विज्ञप्ति जारी गर्दै शुक्रबार दिउँसो २ बजे नवनिर्वाचित सभापति गगन थापासहित सम्पूर्ण केन्द्रीय सदस्यहरूलाई निर्वाचन आयोगमा बोलाइएको जानकारी दिएका छन्। आयोगमा चुनाव चिन्ह, कार्यसमिति अद्यावधिकलगायत विषयमा छलफल हुने जनाइएको छ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा सम्पन्न विशेष महाधिवेशनलाई देउवा पक्ष (संस्थापन)ले मान्यता दिएको छैन। संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको निर्णयबिनै विशेष महाधिवेशन हुन नसक्ने तर्क गर्दै आएको छ।
तर, गगन थापा समूहले भने पार्टी विधानअनुसार विशेष महाधिवेशन गरिएको दाबी गर्दै आफूहरू नै नेपाली कांग्रेसको आधिकारिक नेतृत्व भएको जिकिर गर्दै आएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया