कांग्रेस विशेष महाधिवेशनमा २,६५२ प्रतिनिधि सहभागी भएको दाबी

170 Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६५२ जना महाधिवेशन प्रतिनिधि सहभागी भएको जानकारी दिइएको छ।

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै कुल मताधिकार भएका प्रतिनिधिमध्ये २,६५२ जनाको सहभागितामा नेतृत्व चयन भएको दाबी गरेका हुन्।

प्रवक्ता चालिसेले विज्ञप्तिमा उल्लेख गरेअनुसार, विशेष महाधिवेशन असोज २९ गते पार्टी केन्द्रीय कार्यालयमा दर्ता हुँदा कुल २ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संलग्न थियो। दर्तापछि तीमध्ये २९ जनाले मात्र हस्ताक्षर फिर्ता लिएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘कुल ४ हजार ६३५ मताधिकार भएका महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ६५२ जना प्रतिनिधिको उपस्थिति र सक्रिय सहभागितामा विशेष महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएको हो।’

विशेष महाधिवेशनको वैधता र पार्टीको आधिकारिकता विषयमा निर्वाचन आयोगमा विवाद चलिरहेका बेला प्रवक्ता चालिसेले प्रस्तुत गरेको यो तथ्यांकलाई महाधिवेशन वैध रहेको पुष्टि गर्ने आधारका रूपमा लिइएको छ।

यस्तो छ उनको विज्ञप्ति

नेपाली कांग्रेसको दोस्रो विशेष महाअधिवेशन पौष ३० गते विधानसम्मत, बहुमत प्रतिनिधिको उपस्थिति र सहभागितामा पूर्ण रूपमा वैधानिक तरिकाले सम्पन्न भएको विदितै छ ।
यसले नेपाली कांग्रेसको १४ औ महाअधिवेशनवाट निर्वाचित केन्द्रीय समिति भंग गरि १५ औ महाअधिवेशन सम्पन्न नभएसम्मको लागि श्री गगन कुमार थापाको सभापतित्वमा नया केन्द्रीय समितिको निर्माण गरेको व्यहोरा समेत सार्वजानीक भैसकेको छ ।
यस विच विशेष महाअधिवेशन सम्पन्न भएपछि पनि केही महाअधिवेशन प्रतिनिधिहरूले दस्तखत फिर्ता लिएको भन्ने केहि संचारमाध्यमहरूमा प्रचार भएको देखिएको हुदा यसको सत्यता तथा वैधानिक प्रभाव सम्बन्धमा निम्न बुँदाहरू स्पष्ट गर्न आवश्यक ठानी नेपाली कांग्रेस केन्द्रीय समितिको तर्फवाट यों जानकारी सार्वजानिक गरिएको छ ।
१. दर्ताको समयमा दस्तखतको स्थिति
• विशेष महाअधिवेशन असोज २९ गते पार्टी कार्यालयमा दर्ता हुँदा कुल २,४८८ जना महाअधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संलग्न थियो।
• दर्तापछि केवल २९ जना ले हस्ताक्षर फिर्ता लिएका थिए।
२. अधिवेशनमा उपस्थिति र सक्रिय सहभागिता
• अधिवेशनमा कुल महाअधिवेशन प्रतिनिधि संख्या ४,६३५ मध्ये २,६५२ जना महाअधिवेशन प्रतिनिधि उपस्थिति रहेको थियो ।
• उपस्थित सबै प्रतिनिधिहरूले निर्णय प्रक्रियामा पूर्ण रूपमा भाग लिए र मतदान/बहसमा सक्रिय सहभागी भए।
३. अधिवेशन सम्पन्न भएपछि फिर्ता लिइएको दाबीको कानुनी/वैधानिक प्रभाव
• अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेपछि फिर्ता लिइएको भनिने हस्ताक्षतले विशेष महाअधिवेशनको वैधानिकता, निर्णय प्रक्रिया वा निर्णयहरूको वैधता मा कुनै प्रभाव पार्दैन।
• नेपालको संविधान, नेपाली कांग्रेसको विधान तथा नियमावलीअनुसार एकपटक वैधानिक रूपमा दर्ता भई सम्पन्न भएको अधिवेशनको निर्णयलाई पछिको हस्ताक्षर फिर्ताले रद्द वा प्रभावित गर्न मिल्दैन।
४. केहि दस्तखतहरू फिर्ता भएको भनिएको प्रचारको विश्वसनीयता र आधार
• दस्तखत फिर्ता लिएको भनिएको समय, संख्या (जस्तै: २९ भन्दा धेरै दाबी) र व्यक्तिहरू को कुनै आधिकारिक सूची, प्रमाणित कागजात वा सत्यापित विवरण सार्वजनिक रूपमा उपलब्ध छैन।
• यो प्रचार राजनीतिक प्रचारात्मक प्रयोजन र सार्वजनिक धारणा प्रभावित गर्नका लागि मात्र फैलाइएको अतिरञ्जित/भ्रामक दाबी हो भन्ने स्पष्ट छ।